Hindi Films

वन रक्षक र तस्करबीच भिडन्त, ६० राउन्ड गोली फायरिङ

Unknown | 01:10 | 0 comments

रौतहट — रौतहट र सर्लाहीको साझा सीमा नजिकै पर्ने वन क्षेत्रमा आइतबार बिहान सशस्त्र वन रक्षकको गस्ती टोली र काठ तस्कर समूहबीच भिडन्त भएको छ। करिब एक घण्टासम्म चलेको भिडन्तपछि वन रक्षक टोलीले पाँच वटा टायर गाडासहित दुईजना तस्करलाई नियन्त्रणमा लिन सफल भएको छ। गस्ती टोलीसँगको भिडन्त पछि तस्करहरु चार सय पचास क्युफिट काँचो सालको गोलिया काठ छाडेर भागेका छन्। सो काठको मूल्यकरिब तिनलाख पचास हजार रुपैयाँ पर्छ। सर्लाहीका काठ तस्करहरु राँगा टायर गाडा सहित बाग्मती नदी पार गरेर रौतहटको वन क्षेत्रमा प्रवेश गरेको सुराकीका आधारमा वृन्दावन रेञ्जपोष्टबाट वन रक्षक टोली खटिएको थियो। विश्रामपुरको जंगलमा टोली र तस्कर आमने सामने भएपछि गोली हानाहान भएको हो। वन रक्षक टोलीले अवैध काठ लोड गर्न तयारी अवस्थामा राखिएका टायरगाडा नियन्त्रणमा लिने प्रयास गर्दा काठ तस्करले अन्धाधुन्ध गोली फायरिङग शुरु गरेपछि वनकर्मीले पनि जवाफी फायरिङग गर्नु परेको प्रमुख वन अधिकृत बबुराम भण्डारीले बताए। भिडन्तका क्रममा दुवै पक्षबाट ६० राउण्ड गोली फायरिङ भएको छ। तस्कर समूहबाट २० राउण्ड र वन रक्षकहरुबाट ४० राउण्ड गोली फायरिङ भएको बताइएको छ। तस्करका लागि रुख काट्ने र ओसार्ने कार्यमा संलग्न २ जनालाई सीमा सुरक्षा बल मलंगवाबाट खटिएको टोलीले पक्राउ गरेको मध्य क्षेत्रिय सशस्त्र प्रहरि रुद्र बाहिनि पथलैयाका डिआइजि महाविर गुरुडले बताए। पक्राउ पर्नेमा सर्लाही शंकरपुर-९ सोल्टीका १९ वर्षिय सुनिल थापा र २० वर्षिय अशोक कुमार महत्तो रहेका छन्। प्रमुख वन अधिकृत भण्डारीका अनुसार पक्राउ परेका युवकको बयानका आधारमा वन फँडानी र काठ तस्करीमा संलग्न गिरोहका नाइके र अन्य सदस्यविरुद्ध समेत कानूनी कारवाही अघि बढाइने जानकारी दिए।

Category:

0 comments