Home �
News
� पेरिसडाँडामा प्रचण्ड र महराको चर्को आलोचना कार्कीले प्रचण्डलाई भने-लगामविनाको घोडाले लडाउँछ -
Unknown |
10:00 |
0
comments
कार्कीले प्रचण्डलाई भने-लगामविनाको घोडाले लडाउँछ
३० जेठ, काठमाडौं । पार्टी मुख्यालय पेरिसडाँडामा जारी एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठकमा बोल्ने नेताहरुले पार्टी अध्यक्ष प्रचण्डलाई हेटौडा महाधिवेशनको राजनीतिक प्रतिवेदन र विधान उपलब्ध गराउन माग गरेका छन् । संगठन यस्तो हुनुपर्छ र उस्तो हुनुपर्छ भन्दै छलफल गर्नुअघि महाधिवेशनको विधान केन्द्रीय सदस्यलाई उपलब्ध गराइनुपर्ने अधिकांश सदस्यले माग गरेका छन् ।

प्रचण्ड र महराको दस्तावेजमाथि आन्तरिक छलफलका लागि भन्दै तीन दिन स्थगित भई विहीबार बसेको दोस्रो बैठकमा विभिन्न ब्यूरो प्रमुखहरुले राय प्रस्तुत गरेका थिए । सदस्यहरुले प्रचण्डको उत्पादन र निर्माणसम्बन्धी प्रस्तावमा भन्दा बढी कृष्णबहादुर महराको संगठनात्मक प्रस्तावमा छलफल गरेका थिए ।
स्रोतका अनुसार बिहीबारको बैठकमा मधेस ब्यूरोका हरिबोल गजुरेल, पश्चिम ब्यूरोका लीलामणि पोखरेल, मगरातका लोकेन्द्र विष्ट, तमुवानका डिलाराम आचार्य र ताम्सालिङका आहुतीले ब्यूरोमा भएको छलफलको रिपोर्ट प्रस्तुत गर्नुभएको थियो । सुदुरपश्चिम ब्यूरो प्रमुख शक्ति बस्नेतको साटो थारुवान इञ्चार्ज नवराज सुवेदीले बोलनुभएको थियो । नेवाका तर्फबाट नारायण दाहालले बोल्नुभएको थियो । पूर्वीब्यूरो प्रमुख गिरिराजमणि पोखरेल भने लिम्बुवानको सम्मेलनमा पाँचथरमा भएकाले बैठकमा बोल्न बाँकी रहेको एक सहभागी केन्द्रीय सदस्यले अनलाइनखबरलाई बताए ।
त्यस्तै प्रचार-प्रसार ब्यूरोबाट अग्नि सापकोटा, अन्तराष्ट्रिय ब्यूरोबाट राम कार्की, जनवर्गीय संगठन मोर्चाबाट चित्रबहादुर श्रेष्ठ, युवा परिचालन ब्यूरोबाट गणेशमान पुन र सल्लाहकार कमिटीका तर्फबाट नन्दकुमार प्रसाइँले रिपोर्टिङ गर्नुभएको थियो ।
विधान र प्रतिवेदन तत्काल सार्वजनिक गर्न जोड
बैठकमा बोल्ने अधिकांशले हेटौंडा महाधिवेशनद्वारा पारित विधान र राजनीतिक प्रतिवेदन केन्द्रीय सदस्यका हात-हातमा उपलब्ध गराइनुपर्ने माग गरेका छन् । ‘पहिले विधान चाहियो, अनि त्यसमा टेकेर संगठन कस्तो बनाउने, कति सदस्यीय केन्द्रीय कमिटी बनाउने भन्ने छलफल हुन्छ ।’ बैठकमा उठेको विचारबारे जानकारी गराउँदै स्रोतले अनलाइनखबरसँग भन्यो-’महाधिवेशनको जगमा टेकेर संगठन र उत्पादनको योजनाबारे छलफल गरिनुपर्छ भन्ने अधिकांश सदस्यहरुको माग छ ।’
महरा प्रतिवेदनको आलोचना
महरा कार्यदलले तयार पारेको प्रतिवेदन ‘नकारात्मक’ रहेको अधिकांश केन्द्रीय सदस्यहरुको आलोचना छ । संगठनमा सक्रिय हुनेलाई व्यक्तिगत स्वार्थले सक्रिय बनेको जस्तो देखाइएको र आर्थिक अभावले अनियमितता बढेको बताएर अवसर पाउनेहरुलाई भन्दा नपाउनेलाई दोषी देखाउन खोजिएको भन्दै नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् । ‘स्रोतले भन्यो, अधिकांशको गुनासो के छ भने महराको प्रतिवेदन बढ्ता नकारात्मक भयो ।’
महाधिवेशनले संगठन चुस्त बनाउने म्यान्डेट दिएको र महरा कार्यदलले पनि संगठन भद्धा भएको गुनासो गरे पनि केन्द्रीय समिति किन ३ सय ९९ बनाइँदै छ ? भन्ने प्रश्न पनि उठाएका छन् । मधेसका केही सदस्यले कमिटी ठूलो बनाउनु हुँदैन भने पनि कति सदस्यीय बनाउनुपर्छ भन्ने सुझाव नदिएको भन्दै आलोचना गरेका छन् ।
कार्कीले प्रचण्डलाई भने-लगाम विनाको घोडाले लडाउँछ
बैठकमा महरा कार्यदलको प्रतिवेदनमा जस्तै प्रचण्डको उत्पादनसम्बन्धी कार्यदलको प्रतिवेदनमाथि पनि चर्को आलोचना भएको छ । प्रचण्डको ६ पन्ने प्रतिवेदनले सैद्धान्तिक विषयमा मात्रै चर्चा गरेको, के गर्ने भन्ने स्पष्ट दिशा निर्दिष्ट गर्न नसकेको र झन् अन्यौल थप्ने काममात्रै गरेको भन्दै सदस्यहरुले थप स्पष्ट पार्न प्रचण्डसँग माग गरेका छन् ।
स्रोतका अनुसार बैठकमा प्रचण्डको प्रतिवेदनमाथि लक्षित गर्दै अन्तरराष्ट्रिय विभाग प्रमुख राम कार्कीले भन्नुभयो- राजनीतिक लगामविनाको आर्थिक विकासको कार्यक्रम लगामविनाको घोडाजस्तै हुन्छ, लगामविनाको घोडाले लडाउँछ ।’
आइतबारबाट शुरु भएको एमाओवादी बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्ने छ । शुक्रबारको बैठकमा प्रचण्ड र महराले उठेका प्रश्नहरुको जवाफ दिएपछि संगठनात्मक विषयमा छलफल हुने बताइएको छ । बैठकमा विभिन्न आयोगका प्रतिवेदनका साथै चुनावी रणनीतिका बारेमा पनि छलफल हुने बताइएको छ ।
- See more at: http://www.onlinekhabar.com/2013/06/81447/#sthash.JJw6XMTl.dpuf
|
 |
Category:
News
0 comments