सडकमा बसेर सुखको सपना देख्दै गीता
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
३ जेठ, काठमाडौं । तीनकुनेस्थित बसस्टपमुनि एक प्रौढ महिलाले एउटा हातमा बोकेको झोला बिसाइन् । चर्किदै गएको घामलाई छल्ने प्रयास गर्दै अर्को हातको नाङ्लो भुइँमा राखेपछि एक पटक खुइया गरिन् ।
थकित र उदाश अनुहारमा सडक पेटीमा बसेकी उनले हेर्दा हेर्दै नाङ्लोमा सानो किराना पसल फिजाइँन् । झोलाबाट चाउचाउ, विस्कुट, चुरोट, चक्लेट, पानपराग, खैनी आदि सामान निकाल्दै नाङ्लामा फिजाएँपछि उनको जीवन धान्ने दोकान तयार भयो ।
०५४ सालदेखि यही बसस्टपसँग नाता गाँसेकी उनले घाम, झरी, धुलो र आँधीहुरीको प्रवाह नगरी नाङ्ले दोकान चलाउँदै आएकी छिन् । नाङ्लाभरी सामान फिजाउँन नपाउँदै पुरानो बसपार्कबाट चक्रपथ जाँदै गरेको बसका सहचालक पान पराग किन्न आइपुगे । गोजीबाट ५ रुपैयाँ निकाल्दै उनले भने- ‘दिदी पानपरा पाउँ त ।’ नाङ्ले साहुनीले भनिन्- ‘पानपराग त लैजाउ तर हिजोको एक रुपैयाँ उधारो बाँकी छ, त्यो पनि तिर । उनले केही नभनी फिस्स हाँस्दै पानपराग चपाउँदै कुलेलम ठोके ।
तीनकुनेको बसस्टमा १७ वर्ष बिताइसकेकी उनका धेरै ग्राहक भनेकै चक्रपथ घुम्ने बसका ड्राइभर, सहचालक र फुटपाथमा हिँड्ने बटुवाहरु हुन् । विहान ८ बजे कोटेश्वरस्थित कोठाबाट यहाँ आइपुग्ने उनी बेलुका ६ बजे कोठा फर्किन्छिन् । उनले १७ वर्ष लामो समय यसैगरी बिताएकी छन् ।
रामेछापबाट पतिसहित ०५३ सालमा काठमाडौं छिरेकी ४७ वर्षीया गीता कँडेलले परिवारबाटसमेत धोका पाएर दशहण्डर खाएपछि संसार स्वार्थीहरुले भरिएको कुरा बताउन भुल्दिनन् ।
यसरी शुरु भयो दुःखको यात्रा
रामेछापस्थित गाउँमा कडेंल परिवारका ५ भाइ छोरामध्ये माइलाकी पत्नी उनी घरमा अंशवण्डा भएपछि काठमाडौं छिरेकी हुन् । अंशमा पाएको घरको एउटा कोठो र ऐलानी जग्गामा १२ महिना काम गर्दा पनि खान नपुग्ने भएपछि पति पत्नीले सल्लाह गरेर काखे छोराछोरी च्यापेर काठमाडौं छिरेका थिए ।
काठमाडौं पसेपछि दुबै मिलेर काखे छोराछोरी हुर्काउन मजदुरी थाले । काठमाडौंमा छिरेर छोराछोरीसँगै हाँसिखुसी डेराको बास बसिरहेका बेला गीताका पति सडक दुर्घटनामा परेपछि कडेँल परिवारमा दशा शुरु भयो । कलंकीमा रहेका साथीले लगेको रकम मागेर आउने क्रममा सडक पेटीमा हिँडिरहेका गीताका पतिलाई पछाडि गाडीले ठक्कर दिँदा खुट्टा भाँचिएपछि उपचार गर्दै भएको केही पैसा पनि सके । ‘पतिको भाँचिएको खुट्टामा स्टिल हाल्दा २३ हजार बढी सकियो । काठमाडौंमा पसेर केही गर्ने सपना देख्दादेख्दै पतिको खुट्टाले सबै सपना लग्यो’, गीताले सुनाइन्, ‘काभ्रेबाट माइतीले जीवनभर सुखी भएस, हाँसीखुसी जीवन बिताएस् भन्दै विदा गरेका थिए, तर जीवनभर हण्डर भोग्न लेखेको रहेछ ।’
पतिको खुट्टा भाँचिएपछि निको हुने आशमा उनले ६ वर्षसम्म प्रतिक्षा गरिन् । खुट्टोमा राखिएको स्टिल निकालेपछि काम गरेर पालौंला भन्ने पति ०६० सालमा जन्डिस लागेर सदाका लागि संसार छाडेर गए । ‘खुट्टामा राखेको स्टिल निकालेपछि पतिले काम गरेर तिमी र छोराछोरीलाई पाल्छु भन्नुहुन्थ्यो’, गीताले सुनाइन्, ‘न त खुट्टाको स्टिल निकाल्न सक्यौं, न त पतिले काममा जानै पाउनुभयो । उल्टै सदाका लागि हामीलाई छोडेर जानुभयो ।’
जन्डिस लागेपछि पतिको उपचारका लागि गीताले डेढ लाख बढी खर्च गरिन् । आफूसँग एक पैसो नहुँदा पनि माइतीको साथले उनले पतिलाई बचाउने अथक प्रयास गरिन् । अनौकौ प्रयास र प्राथना पनि भगवानले नसुनेपछि आफू ३६ वर्षको हुँदा ४० वषर्ीय पतिलाई संसारबाट विदा गरिन् ।
पतिले संसार छाडेपछि घर न घाटकी भएकी गीतालाई उनका माइतीले बलियो साथ दिए । छोरी सरस्वतीले ३ कक्षा र छोरा रामकृष्णले स्कुलमा पाइलामात्रै राखेका बेला बाबु स्वर्गबास भएपछि गीताको काँधमा दोहोरो बोझ थपियो । पतिलाई गुमाएपछि संसारबाट एक्लिएकी गीताले माइती र शुभेच्छुकको साथ पाएर छोराछोरीलाई पढाइरहिन् ।
आम्दानी गर्ने आफूमात्र भएपछि उनलाई काठमाडौंको ठाउँमा कोठा भाडा तिर्ने, छोराछोरी पढाउने र पापी पेटमा दुई छाक भर्नेसहितका सम्पूर्ण जिम्मेवारी आइलाग्यो । पतिको निधनपछि पनि उनले तीनकुनेस्थित सडक किनारामा नाङ्ले पसल फिजाउँन छाडिनन् । पतिलाई गुमाएपछि छोराछोरीको अनुहार हेरेर पनि उनले संघर्षको मैदानबाट पछि नहट्ने कसम खाइन् ।
‘पतिलाई गुमाएपछि म कमजोर भएकी भए मेरा छोराछोरी पनि सडकमा पुग्थे, जति नै बज्र परेपनि पीडा सहेर मुटु दह्रो बनाई बाँच्ने कसम खाएँ’, गीता सुनाउँछिन्, ‘घरबाट मलाई केही सहयोग भएन तर माइतीले दिएको साथले अब छोराछोरीले मेरो दुःखमा साथ दिने आशमा बाँचेकी छु ।’
नाङ्ले दोकान फिजाएपछि उनको हात खाली हुँदैन । हातमा रुवा लिएर उनी निरन्तर बत्ती कातिरहेकी हुन्छिन् । एक हजार वटा बत्तीलाई ६० रुपैयाँमा बेच्छिन् । उनले दिनमा ५ सयदेखि १२ सयसम्म बत्ती कात्छिन् । बसस्टपमा करिब ४ हजारको सामान नाङ्लोमा फिजाँएकी उनले दिनमा ७ सय सम्मको सामान बेच्छिन् । त्यति बेच्दा मरेर दुई सय पनि नाफा हुँदैन । ‘धुवाँ धुलो खाँदै सय दुई कमाइरहेकी छु, सानोतिनो काम खोज्दै पत्रिकादेखि अरु अफिसमा डुलेँ, कसैले पत्याएनन्’, गीताले सुनाइन्, ‘गरिबलाई यो दुनियाँमा गरिखान चर्को छ, त्यहाँमाथि हामीजस्ता अभागी महिलालाई त सबैले हेलामात्रै गर्छन्, दयाभावले हेर्छन् तर कसैले सहयोग गर्दैनन् ।’
होलसेल पसलबाट ल्याएका किराना सामान बेचेर उनलाई भाडा तिर्न पनि पुग्दैन । उनको जीवनमा गतिलो साथ दिएका छन्, उनका माइतीले । आफूलाई र भाञ्जाभाञ्जीलाई कतारमा रोजगारी गरिरहेका भाइ विष्णु पन्तले पाइलापाइलमा साथ दिएको गुण उनी सुनाउन भुल्दिनन् ।
छोराछोरीले बाल्दैछन् आशाको दियो
अनुहार नचिन्दै बाबुलाई गुमाएका छोरी सरस्वती र छोरा रामकृष्णले गीताको जीवनमा आशाको दियो बाल्दैछन् । तेल सकिएर निभ्न लागेको दीपमा जस्तै उच्च शिक्षा लिइरहेका छोराछोरीले आफ्नो जीवनमा किरण छर्ने आशमा छिन्, गीता ।
कोटेश्वरको महादेवस्थानस्थित एक निजी कलेजबाट २२ वषर्ीया छोरी सरस्वतीले बीबीएस तेस्रो वर्षको परीक्षा दिएर परीक्षाफलको प्रतिक्षामा छिन् । १९ वषर्ीय छोरा रामकृष्ण पनि सोही कलेजमा बीबीएस दोस्रो वर्षमा पढिरहेका छन् । नेदरल्यान्डका एक नागरिकले नरेफाँटमा खोलेको विद्यालयमा निःशुल्क पढ्न पाएकी सरस्वतीले ७६ प्रतिशत अंक ल्याउँदै प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरिन् भने रामकृष्णले ८२ प्रतिशत अंक ल्याउँदै विशिष्ठ श्रेणीमा एसएलसी उत्तीर्ण गरे ।
गीता छोराछोरीले बीबीएस पढ्दै गरेको भन्न सक्दिनन् । उनी छोराले १४ कक्षा पढिरहेको तथा छोरीले १५ कक्षाको परीक्षा दिइसकेको बताउँछिन् । ‘छोराछोरीले खान नपाएर भोकभोकै पर्दा पनि रात दिन मेहनत गरेर पढेका छन्, अबचाँहि मेरा दुःखका दिन जान्छ भन्ने आशमा छु’, गीताले भनिन्, ‘छोरीले १५ कक्षाको परीक्षा दिएर बसेकी छ, जागिर खोज्न जाँदा कसैले पत्याएनन्, गरिबले पढेर पनि सजिलै जागिर नपाउँदा भने यो मन फेरि कुँडिएको छ ।’
बीबीएसको परीक्षा दिइसकेकी छोरीका लागि जागिरको खोजीमा रहेकी गीतालाई उनले चिनेजानेका कसैले जागिरका लागि पत्याएका छैनन् । ‘गरिबका पनि दिन फर्केलान्, त्यही आशमा भगवानलाई सम्झेर बसेकी छु’, गीताले भनिन्, ‘मेरो कर्ममा अझै दुःख भोग्न लेखेको रहेछ भने भोग्न तयार छु, तर छोराछोरीले जागिर खान पाएर उनीहरुको भविष्य राम्रो भए मेरो आत्मा रमाउने थियो, अहिलेसम्मको सबै दुःख भुल्ने थिएँ ।’
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News



0 comments